समाज

भद्रपुरमा गाेली प्रहार, २०५ ग्राम ब्राउन सुगरसहित कारोबारी पक्राउ

By admin

July 08, 2025

भद्रपुर । झापाको भद्रपुरबाट गोली प्रहार गरी ठूलो परिमाणको ब्राउन सुगरसहित दुई जना कारोबारीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । गोली प्रहारबाट एकजना कारोबारी घाइते भएका छन् ।

 

प्रहरीले गोली प्रहार गरी दुईजना कारोबारीलाई पक्राउ गरेको थियोे । मंगलबार साँझ ५ः२० बजे भद्रपुर ७ स्थित चिया पसल नजिक रहेको हुलाकी राजमार्गमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछाने समेतको ७ जनाको टोलीले खटिएको थियो ।

 

विशेष सूचनाको आधारमा शंकास्पदरुपमा रहेको अवस्थामा चेकजाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गरी भाग्न खोजेपछि नियन्त्रणमा लिनका लागि चाइनिज ठूलो तथा सानो पेस्तोलबाट ३/३ गरी जम्मा ६ राउण्ड गोली फायर गरेको बताइएको छ ।

 

पक्राउ पर्नेमा भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने ३५ वर्षीय मनिसुर आलमको साथबाट २ वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १०३ ग्राम ७० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

 

त्यस्तै, कचनकवल गाउँपालिका ५ बस्ने ५५ वर्षीय नशुरुद्धिन मियाको साथबाट २ वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १०२ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । उनको दाहिने खुट्टाको पिड्युँलामा एक राउण्ड गोली लागेको बताइएको छ ।

 

सामान्य घाइते भएका मियालाई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा सामान्य उपचार गरिएको छ । प्रहरीले उनीहरुको साथबाट प्लाष्टिकबाहेक २०५ ग्राम ८० मिलिग्राम ब्राउनसुगर बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।