समाज

बाह्रदशी दुर्घटनामा घाइते बालकको मृत्यु, आमाको अवस्था गम्भीर

By admin

July 10, 2025

झापा । झापाको बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी घाइते ७ वर्षीय आयुष राजवंशीको पनि मृत्यु भएको हो ।

 

गएराति ९ः२५ बजे आयुषको बीएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशीको मृत्यु भएको थियो । उनीहरु नाति-हजुरबुवा हुन् ।

 

मृतक श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला राजवंशीको अवस्था गम्भीर रहेको छ । उनको आइसीयुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा हिजो मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी १४ बस्ने २७ वर्षीय सुरज टुडूको पनि मृत्यु भएको थियो ।

 

हिजो दिउँसो ३ः४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. १-०१-०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुधेका थिए ।