समाज

बाह्रदशी दुर्घटनाः घाइते बुहारी उर्मिलाको पनि मृत्यु

By admin

July 18, 2025

झापा । झापाको बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । स्कुटरमा सवार घाइते बुहारीको पनि मृत्यु भएको छ ।

 

स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी र उनका ७ वर्षीय नाति आयुष राजवंशीको यसअघि नै मृत्यु भएको थियो । २७ वर्षीया उर्मिला राजवंशीको आज दिउँसो १ः३५ बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

गत असार २५ गते दिउँसो ३ः४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. १-०१-०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुधेका थिए ।

 

सो दुर्घटनामा परी सोही दिन स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी १४ बस्ने २७ वर्षीय सुरज टुडूको मृत्यु भएको थियो ।

 

सोही राति श्रीप्रसादका नाति ७ वर्षीय आयुषको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो भने मृतक श्रीप्रसादकी बुहारी उर्मिलाको भने बीएण्डसीमै उपचार भइरहेको थियो । आज उनको मृत्यु भएको हो ।