समाज

आगलागीका घाइते बुवाछोरालाई हेलिकप्टरबाट काठमाडौँ पठाइयो

By admin

July 23, 2025

बिर्तामोड । झापा हल्दिबारीको एक घरमा रोटी पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर बनेको छ ।

 

मंगलबार बिहान ८ः४० बजे हल्दिबारी ४ स्थित ओलीचोकका ६० वर्षीय पुण्यप्रसाद ओलीको घरमा रोटी पकाउने क्रममा ग्यासबाट अचानक आगो सल्किएको थियो ।

 

आगलागीमा घरधनी ओली, उनका छोरा बुहारी ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली घाइते भएका छन् ।

 

शरीरको विभिन्न भागमा आगोले जलेर उनीहरू घाइते भएका हुन् । ती चार जनामध्ये घरधनी ओली र उनका कान्छा छोराको अवस्था गम्भीर बनेको हो ।

 

दुवै बुवाछोरालाई हेलिकप्टरबाट काठमाडौँको कीर्तिपुर बर्न अस्पताल लगिएको छ । ओलीको घरको दोस्रो तलाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।

 

सोही आगो निभाउने क्रममा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरेर ओमसाई पाथिभरा अस्पताल पठाइएको थियो ।

 

आगलागीबाट घरको भान्सा कोठा आंशिकरुपमा क्षति भएको छ । अस्थायी प्रहरी पोस्ट कञ्चनश्रीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बिहान ९ः१५ बजे आगो नियन्त्रणमा लिइएको थियो ।