समाज

झापामा फेरि गोली प्रहार गरी १०७ ग्राम ब्राउनसुगर बरामद

By admin

July 26, 2025

झापा । भद्रपुर नगरपालिका ५ स्थित भित्री सडकखण्डमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले गोली प्रहार गर्दै एक जनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

 

शनिबार दिउँसो ३ः५० बजे जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले भारतको किसनगंज जिल्ला कोल्लीकोट थाना निवासी ३६ वर्षीय मोहमद इस्लामलाई शंकास्पद अवस्थामा हिँडिरहेको देखेपछि नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गर्दै भाग्न खोजेका थिए।

 

उक्त घटनामा आत्मरक्षाका लागि प्रहरीले पेस्तोलबाट दुई राउन्ड गोली प्रहार गर्दा एक राउन्ड गोली मोहमद इस्लामको बायाँ खुट्टाको घुँडामुनि लागेको छ। गोली लागि घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा प्रहरीको निगरानीमा भर्ना गरिएको छ।

 

प्रहरीका अनुसार पक्राउ परेका इस्लामको साथबाट खैरो हिरोइनजस्तो देखिने प्लास्टिकबाहेक १०७ ग्राम १०० मिलिग्राम लागूऔषध बरामद गरिएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।