समाज

ताप्लेजुङः जिप दुर्घटनामा शिक्षिका भावनाकाे ज्यान गयाे

By admin

July 27, 2025

फुङलिङ । ताप्लेजुङको सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका ३० वर्षीया भावना विश्वकर्माको दुर्घटनामा मृत्यु भएको छ ।

 

सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिका ३ सिकैचा जाँदै गरेको मे. १ ज ३२९६ नम्बरको जिप दुर्घटना हुँदा उनको मृत्यु भएको हो । जिप चालक फावाखोला बस्ने ३३ वर्षीय सविन विष्ट घाइते भएका छन् ।

 

आज बिहान १०ः३० बजे विद्यालय जाँदै गर्दा भावना चढेको जिप फुङलिङ ११ फावाखोलास्थित फुङलिङ–फावाखोला भित्री सडकखण्डमा दुर्घटनामा परेको थियो ।

 

जिप ब्रेक फेल भई बाटोबाट ५० मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ । फुङलिङ नगरपालिका ११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराईका अनुसार भावनालाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

 

आजैदेखि स्कुल खुलेकाले भावना विद्यालयतर्फ जाँदै थिइन् ।  उपचारका लागि लैजाँदै गर्दा त्रिभुवन चोकमा पुगेपछि भावनाको मृत्यु भएको भट्टराईले जानकारी दिए ।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मृतक भावना फुङलिङ नगरपालिका ११ फावाखोलाकै हुन् । फावाखोलाकै चालक विष्टको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।