समाज

खैनीको निहुँमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

By admin

July 28, 2025

ताप्लेजुङ । सामान्य घरायसी विवादमा आफ्नै श्रीमतीलाई कैंची प्रहार गरी हत्या गर्ने एक व्यक्तिलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।

 

घटनालाई लुकाउन ‘बाटोमा लडेर रडले घोपियो’ भन्दै प्रहरीमा झुठो जाहेरी दिने फुङलिङ नगरपालिका ६ का सञ्जमान लिम्बू (विजय) लाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको हो।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बेदप्रसाद गौतमका अनुसार, घटना शंकास्पद देखिएपछि गरिएको सुक्ष्म अनुसन्धानबाट श्रीमान् नै हत्यामा संलग्न रहेको तथ्य खुलेको हो।

 

पक्राउ परेका लिम्बूमाथि आफ्नै ३० वर्षीया श्रीमती शान्ति राईको हत्या गरेको अभियोग छ। उनलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी गौतमले बताए।

 

प्रहरी अनुसन्धानअनुसार गत साउन ८ गते सञ्जमानले श्रीमती शान्तिलाई खैनी माड्न लगाउँदा सुरु भएको विवाद चर्किएपछि कोठामा रहेको कैंचीले श्रीमतीको योनाङ्गभन्दा केही माथि पेटमा घोपेको बताइएको छ ।

 

घटनापछि उनले घाइते श्रीमतीलाई ‘बाटोमा हिँड्दा लडेर रडले घोच्यो भन्नू’ भनी दबाब दिएर उपचारका लागि ताप्लेजुङ अस्पताल लगेका थिए। अस्पतालमा चोटमा सिलाएर घर फर्काइएकी शान्तिको स्वास्थ्य अवस्था साउन ९ गते पुनः बिग्रिँदै गएपछि उपचारकै क्रममा साउन १० गते राति ११ः३० बजे उनको मृत्यु भएको थियो।

 

डीएसपी गौतमका अनुसार प्रहरीले शान्तिको मृत्यु लडेर नभई श्रीमानले प्रहार गरेको कैंचीकै कारण भएको प्रारम्भिक निष्कर्ष निकाल्दै सञ्जमानलाई पक्राउ गरेको बताएका छन् ।