समाज

अर्जुनधाराका अपाङ्गता भएका व्यक्तिलाई २८ लाखको सहायता सामग्री वितरण

By admin

July 31, 2025

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाका अपाङ्गता भएका ३१९ जना व्यक्तिहरुलाई ३६८ थान सहायता सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको माग र आवश्यकताअनुसार सामग्री वितरण गरिएको नगरले जनाएको छ ।

 

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, अर्जुनधारा नगर र करुणा फाउडेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा आज सामग्री वितरण गरिएको हो । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको प्राविधिक साझेदारीमा सञ्चालित कार्यक्रम अन्तरगत सामग्री वितरण गरिएको छ ।

 

नगरकी उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले अपाङ्गता भएका ब्यक्तिहरुका लागि वितरण गरिएको सहयता सामग्रीको हिफाजत गर्न आग्रह गरे ।

 

उनले नगरको स्रोत र साधनले भ्याएसम्म अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग गर्दै आएको हाल त्रिपक्षिय साझेदारी गरेर गर्दै गरेको बताउँदै आगामी दिनमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

 

अर्जुनधारा ३ का वडाध्यक्ष सिताराम भट्टराईले स्वागत गरेको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडा नम्बर ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, वडा नम्बर ७ का वडाध्यक्ष गोविन्द खतिवडा, कार्यपालिका सदस्य, वडा सदस्यलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सूर्यमाला पन्दाकले गरेकी थिइन् ।

 

नगरपालिकामा संक्षिप्त कार्यक्रमको आयोजना गरी ह्वील चियर, ट्राइपोर्ट, वाकर, क्यान, क्रच, एल्बो क्रच, सीपी ह्वील चियर, ट्वाइलेट चियर, स्टीक, हेरिङ एड, कृतिम हातखुट्टा, मोडिफाई सुजलगायतका सामग्री वितरण गरिएको करुणा फाण्डेशन अर्जुनधारा संयोजक सुरेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार उक्त सामाग्री बिहीबार र शुक्रबार वितरण गरिनेछ ।

 

अपाङ्गता भएका व्यक्तिहरुलाई २८ लाख ३९ हजार रुपैयाँबराबरको सहायता सामग्री वितरण गरिएको कार्यक्रमकी फोकल पर्सन सूर्यमाला पन्दाकले जानकारी दिएकी छिन् ।