झापा । झापाको मेचीनगरमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना भएको छ । मेचीनगर ९ स्थित खुट्टीडाँगीमा रहेको पारिजात पब्लिक स्कुलको मे. १ ज ३१०७ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
आज बिहान १० बजे भएको भ्यान दुर्घटनामा २१ जना विद्यार्थी घाइते भएका छन् । विद्यार्थी बोकेको उक्त भ्यान स्थानीय टिमाई खोल्सीमा खसेको हो । घाइते विद्यार्थीलाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल धुलाबारीस्थित आम्दा मेची अस्पताल पठाइएको थियो ।
जसमा एक शिक्षिकासहित ७ जना घाइते विद्यार्थीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । अन्य विद्यार्थीको भने आम्दामै उपचार भइरहेको छ ।
घाइते हुनेमा भ्यान चालक गणेश श्रेष्ठ, ६ वर्षीया सबिस्का राई, ४ वर्षीया समिरा बिसुङ्खे, १० वर्षीय आदित्य राई, ११ वर्षीया सदिक्षा काफ्ले, ११ वर्षीय सोहित राजबंशी, ११ वर्षीय आयान सुब्बा, ११ वर्षीय अनुराग तामाङ रहेका छन् ।
यसैगरी, १२ वर्षीया कृष्पा राई, १२ वर्षीय संयोग बिसुङ्खे, १२ वर्षीया आयानि बिक, ११ वर्षीय प्रनिस राई, ९ वर्षीय समर्पण राई, ४ वर्षीया समिरा बिसुङ्खे, ६ वर्षीया सोबिस्का राई, ६ वर्षीया सुसिता किसान, ६ वर्षीया तानसोना लिम्बू, ७ वर्षीय सेसेहाङ लिम्बू, ९ वर्षीय अंगु बराई मगर २४ वर्षीया शिक्षिका प्रिति सिवा घाइते भएकी छन् ।