झापा । झापामा लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । शिवसताक्षीमा ३ जना र झापा गाउँपालिकामा २ जना पक्राउ परेका हुन् ।
गएराति १०ः२५ बजे शिवसताक्षी नगरपालिका ५ सालमारा बस्ने ३० वर्षीय राजेन्द्रकुमार ताजपुरियाले लागूऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरी नायव निरीक्षक खड्गबहादुर गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनको घरमा गई चेकजाँच गरेको थियो । त्यसक्रममा ताजपुरिया सुत्ने कोठाको ओछ्यानमा प्लाष्टिकसहित १५ ग्राम २३ मिलिग्राम फेला परेको जनाइएको छ ।
राजेन्द्रकुमार ताजपुरियासँगै वडा नं ४ बस्ने १८ वर्षीय अजय ताजपुरिया र ४० वर्षीय किशोर शाहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।
त्यस्तै गएराति ११ बजे झापा गाउँपालिका ४ बेलाइतीबारी इलाकामा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आउँदै गरेका व्यक्तिलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
झापा गाउँपालिका ७ मदरगाझ बस्ने १९ वर्षीय रेहान आलम र सोही ठाउँ बस्ने १७ वर्षीय दिपक टुडूमाथि शंका लागेर चेकजाँच गर्दा अन्दाजी १ ग्राम ब्राउनसुगर फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ ।