काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गतवर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए । अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल (ननग्रेड) भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । यसपटक नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए । नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी छन् । ५ हजार २०२ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको थियो ।
जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी पनि परीक्षामा सहभागी थिए । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजारले परीक्षा दिएका थिए । मनाङ, मुस्ताङमा १र१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १६२ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ५०२ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ५५ हजार ८९६ पुगेको छ।