समाज

मापसे गरेका व्यक्तिलाई रातभर रुखमा बाँधेर राख्दा मृत्यु

By admin

August 06, 2025

झापा । झापा गाउँपालिकामा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई रुखमा बाँधेर रातभरि राखेपछि मृत्यु भएको छ । गएराति १०ः३० बजे झापा गाउँपालिका वडा नम्बर १ लसुना बस्ने ६० वर्षीय जतन सोरेनको मृत्यु भएको हो ।

 

सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडूको घरमा आएका थिए । घरको गल्लीमा आई काम्न थालेपछि टुडूलगायत स्थानीय व्यक्तिहरुले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर राखेका थिए । आज बिहान ४ बजे उनी मृत अवस्थामा फेला परेका थिए ।

 

घटनाबारे इलाका प्रहरी कार्यालय कुमरखोदको टोली खटिएर घटनामा संलग्न स्थानीय मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू, २१ वर्षीय लखिराम टुडूलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

 

अन्य फरार व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।