पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथर खण्डको हेंवा खोलामा निर्मित मोड्युलर ब्रिज उद्घाटन गरिएको छ । उक्त पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बुधबार संयुक्तरुपमा गरेका हुन् ।
पुल उद्घाटन गर्दै मन्त्री दाहालले बाढी र पहिरोले पुलपुलेसा बगाउँदा समग्र मुलुकको विकास प्रक्रियामा धक्का लागेको बताए । बाढी पहिरोपीडित र प्रभावितको पुनः स्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
यस्तै, भारतीय राजदूत श्रीवास्तवले विपदमा परेको छिमेकीको हात समातेर उठाउने दायित्व छिमेकीकै रहेकाले नेपाल सरकारको अनुरोधलाई स्विकार्दै ५० करोडबराबरका १० वटा पुल उपलब्ध गराएको बताए ।
हेंवामा आएको विपदपछि भारत सरकारले यहाँ पुलसँगै जडान गर्ने प्राविधिकसमेत उपलब्ध गराएको उनको भनाइ थियो । असल छिमेकी भएका नाताले नेपालको विकास प्रक्रियालाई निरन्तरता दिन सघाउने उनको प्रतिबद्धता थियो ।
२०८० सालयता बाढी पहिरो र विपदजन्य घटनाले समस्या भोगिरहेको हेंवा खोलाका लागि मोड्युलर ब्रिज भारत सरकारले निःशुल्क उपलब्ध गराएको हो ।
सडक डिभिजन इलामको निगरानीमा भारतबाट आएका श्रमिकले ७० मिटर लामो उक्त मोडुलर ब्रिज ११ दिनमा जडान गरेका थिए । यो मोड्युलर ब्रिजलाई हालसम्म नेपालमा जडान भएमध्ये सबैभन्दा लामो र उच्चत्तम् प्रविधिको भनिएको छ ।
हेंवा खोलाको पक्की पुल २०८० असार २ को बाढीले बगाएको थियो । त्यसपछि संघीय सरकारले २९ दिन लगाएर बेलिब्रिज बनाएकोमा सो पनि २०८१ असोज १२ गते बाढीले बगाएपछि दोस्रो पटक जोडिँदै गरेको मोडुलर ब्रिज गत जेठ ३१ गते जोडिसक्न लाग्दा भाँचिएको थियो । त्यसक्रममा ३ जना श्रमिकको निधन हुनका साथै ३ जना घाइते भएका थिए ।
बाढीले पुल बगाएपछि हेंवा खोला क्षेत्रको यातायात अस्तव्यस्त थियो । पानी नपर्दा डाइभर्सनबाट गाडी आउजाउ गरे पनि बाढी आउनासाथ अवरुद्ध हाँक्दा यात्रुले कष्ट व्यहोर्नु परेको थियो । उद्घाटन गरिएसँगै पुलबाट सवारी आवागमन खुला गरिएको छ । यो सँगै तीन वर्षयता खेप्दै आएको सास्ती हटेको स्थानीयको प्रतिक्रिया छ ।