समाज

जेनजी प्रदर्शनमा मृतकको संख्या १६ पुग्यो

By admin

September 08, 2025

काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको हो ।

 

ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ८ पुगेको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

 

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

 

यसैबीच, सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएका थिए । अस्पताल स्रोतका अनुसार गोली लागेर अन्दाजी २५ र ३० वर्षीय पुरूषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

 

प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकालाइ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरान पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।

 

तर, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रहरीले गोली चलाउँदा घाइते भएको पुष्टि गरे पनि मृत्युको पुष्टि भइनसकेको बताए ।