अर्थ बजार

भदाैमा पाथीभरा मन्दिरकाे भेटी ९ लाख ९७ हजार

By admin

September 16, 2025

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक महिनामा झण्डै १० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । भदौ महिनामा ९ लाख ९७ हजार रुपैयाँ भेटी सङ्कलन भएको हो ।

 

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार उक्त रकम सङ्कलन भएको हो । पाथीभरा दर्शनका लागि मुख्य सिजन सुरू भएसँगै दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि बढ्दै गएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

 

तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक सातासम्मको संलकन गरि फुङलिङमा रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैँकमा जम्मा गर्ने गरिन्छ ।

 

कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गर्छ । बुधबार सार्वजनिक तथ्याङ्कअनुसार भदौ महिनामा ४ हजार ५०३ जना तीर्थयात्री दर्शनका लागि पाथीभरा आएका थिए ।