समाज

आगजनीपछि अर्जुनधारामा सबै वडाको सेवा नगरबाटै

By admin

September 17, 2025

शनिश्चरे । जेनजीको आन्दोलन र प्रदर्शनका क्रममा झापाको अर्जुनधारा नगरपालिकाको कार्यालय भवन र वडा कार्यालयहरुमा आगजनी तथा तोडफोड भएपछि अत्यावश्यक सेवा नगरको सभाहलबाट हुने भएको छ ।

 

नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले नगरका सबै वडाको सेवा नगरपालिकाबाटै प्रवाह गर्ने निर्णय गरेको हो । गत भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनका क्रममा भएको नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयमा तोडफोड तथा आगजनी भई भौतिक संरचना, कार्यालय सामग्री तथा अभिलेखहरुमा पूर्ण क्षति भएको छ ।

 

तत्काल वडा कार्यालयबाट नियमित सेवा प्रवाह गर्ने अवस्था नरहेकाले वडा कार्यालयबाट गरिने अत्यावश्यक सेवा नगरपालिकाको सभाहलबाट गरिने निर्णय गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले बताए ।

 

बैठकले आन्दोलनका क्रममा मृत्यु भएका सबैको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलिसमेत अर्पण गरेको छ । साथै, घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

 

बैठकमा जेनजी समूहले गरेको आन्दोलन, त्यस दौरान उत्पन्न विध्वंसात्मक गतिविधि एवम् पछिल्लो समय उत्पन्न विषम परिस्थितिको समीक्षात्मक छलफलसमेत गरिएको छ । बैठकमा नगरका सबै वडाध्यक्षहरुले आआफ्नो वडाको अवस्थाका सम्बन्धमा जानकारी गराएका थिए ।

 

आन्दोलनको क्रममा यस नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय तथा सबै वडा कार्यालयको भौतिक संरचना, मेसिनरी औजार उपकरण तथा सवारी साधनहरु, महत्वपूर्ण अभिलेख लगायत कागजातहरुमा क्षति भएको छ ।

 

सार्वजनिक सम्पत्तिहरुमा तोडफोड तथा आगजानी गर्ने व्यक्तिहरुको पहिचान गरी तिनलाई प्रचलित कानून बमोजिम कारबाही गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।