झापा । अप्टिकल फाइभर टेलिफोनको तार चोरी गरी भारततर्फ लाँदै गर्दा पाँचजना पक्राउ परेका छन् । हिजो बिहान ११ बजे इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
नेपालबाट भारततर्फ ५ वटा बोरामा प्याक गरी अप्टिकल फाइभर टेलिफोनको तार चोरी गरी लाँदै गरेको अवस्थामा प्रहरीले भारत, इलाम र झापाका युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत पानीट्याङकी बस्ने २४ वर्षीय कातिक अधिकारी र ३४ वर्षीय राहुल अधिकारी, झापा बुद्धशान्ति गाउँपालिका शितल बस्ती २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका ३ जौबारीका २७ वर्षीय दिनेश परियार र कचनकवल गाउँपालिका ३ डाँगीबारी बस्ने ४२ वर्षीय संजय माझी रहेका छन् ।
पक्राउ परेका ती नेपाली तथा भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।