अन्तराष्ट्रिय

नेपाल प्रवेश गर्दै गरेकी इन्डोनेशियाली महिला पक्राउ

By admin

September 18, 2025

झापा । नेपाल प्रवेश गर्न खोज्ने एक संदिग्ध इन्डोनेशियाली महिलालाई भारत–नेपाल सीमामा तैनाथ सुरक्षाकर्मी (एसएसबी)ले पक्राउ गरेको छ ।

 

एसएसबीको ४१औं वाहिनीको सी कम्पनी पानीटंकीका जवानले उनलाई पक्राउ गरेका हुन्। पक्राउ पर्ने महिलाको नाम काडेक सिसियानी हो। उनी इन्डोनेशिया निवासी हुन्।

 

भारतीय आधार कार्डमा उनको नाम निन्योमन मुरनी रहेको छ। जानकारीअनुसार, एसएसबीले उनलाई भारतीय सीमामा सीमा स्तम्भ संख्या ९० को नजिक पुरानो पुलमा रोकेको थियो। सोधपुछ गर्ने क्रममा ती महिलाले आफूलाई भारतीय नागरिक बताएकी थिइन् ।

 

पछि थप जाँच गर्दा उनको साथमा विभिन्न नक्कली कागजातहरू फेला परेको थियो । जसमा इन्डोनेशियाली पहिचान पत्र पनि समावेश थियो । ती संदिग्ध महिलाले आफू भारतीय नागरिक नभएर मुम्बईमा एक स्थानीय एजेन्टमार्फत ठगी गरेर भारतीय आधार कार्ड र प्यान कार्ड प्राप्त गरेको स्वीकार गरेकी छन् ।

 

एसएसबीले कानुनी प्रक्रिया पूरा गरी ती महिलालाई खोरीबारी थानामा बुझाएको छ । आज ती महिलालाई सिलिगुडी अदालतमा पेश गरिएको भारतीय प्रहरीले जनाएको छ।