राजनीति

आज संविधान दिवस देशभर मनाइँदै

By admin

September 19, 2025

झापा । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो ।

 

२०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । वर्तमान संविधान घोषणाको एक दशक पूरा भएको छ ।

 

संविधान दिवस २०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ ।

 

अहिलेको विशेष राजनीतिक अवस्थामा विभिन्न झाँकीलगायतका कार्यक्रम कम हुने भएका छन् । संविधान कार्यान्वयनपछिको अवस्था, उपलब्धि, कमीकमजोरी, झेल्नुपरेका समस्यालगायतका विषयमा बहस, छलफल तथा अन्तरक्रिया हुने भनिएकोमा पछिल्लो आन्दोलनबाट जनधनको क्षति तथा विषम अवस्थाले त्यस्ता कार्यक्रम नहुने भएका छन् ।

 

संविधान घोषणाको एक दशकलाई उत्सवका रुपमा मनाउन अघिल्लो सरकारले गएको भदौ ८ मा मूल समारोह समिति गठन गरेको थियो । तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।