झापा । हिमाली युनाइटेड क्लब भद्रपुर तेस्रो होक्से च्यालेञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुद्धशान्ति १ होक्सेस्थित त्रिभुवन माविको खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा भद्रपुरले बिर्तामोड खोपबाडीको न्यू स्टार क्लबलाई ६-३ गोलअन्तरले पराजित गरेर सेमिफाइनल प्रवेश गरेको हो ।
भद्रपुरका लागि रोमन भुजेल र निरज कार्कीले समान २-२ गोल गरे भने स्यामुएल तामाङ र प्रदिप बुढाथोकीको नाममा १-१ गोल रह्यो । न्यू स्टारका लागि सरोज कार्की र करण लिम्बूले ११ गोल गरे भने भद्रपुरका राजेश शाहले आत्मघाती गोलको उपहार दिएका थिए ।
खेलको प्लेयर अफ दी म्याच भद्रपुरका रोमन भुजेल भए । उनले नगद एक हजार पाँच सय पाए । बुधबार पूर्वेली युवा क्लब बिर्तामोडले मोरङको बेलबारी एफसीसँग अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ ।
होक्से युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल असोज ११ गते हुनेछ । च्याम्पियन बन्ने टोलीले नगद एक लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले पचास हजारमा चित्त बुझाउनु पर्नेछ ।