झापा । अविरल वर्षापछि आएको बाढीले झापाका विभिन्न स्थानमा करिब ५ सय घरधुरी विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लगातारको वर्षासँगै खोला नाला बढेपछि स्थानीय बस्तीहरूमा पानी पसेको छ ।
झापा गाउँपालिका-२ सुगावथानमा माइखोलाको बाढी पस्दा ५६ घरधुरीका १४० परिवार विस्थापित भएका छन् । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उनीहरूलाई कुवाडी माविमा आश्रय दिइएको प्रहरीले जनाएको छ ।
त्यस्तै शिवसताक्षी नगरपालिका-४, ५, ६ र ७ मा बढी पस्दा करिब साढे ३ सय परिवार विस्थापित भएका छन् । यसैगरी, भद्रपुर-५ मा २५ घर डुबानमा परेका छन् भने उनीहरूलाई छिमेकीका घरमा अस्थायी रूपमा राखिएको छ । शिवसताक्षी-७ मा मात्र १७ घरधुरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै मेचीनगर-७ सतिघट्टा र १५ ज्यामिरगढी क्षेत्रमा मेची खोलाको बढीका कारण २ सय घरधुरी प्रभावित भएका छन् । यसैबीच, अर्जुनधारा ७ स्थित विरिङ खोलाको पुरानो पुल बाढीले भत्काएको प्रहरीले जनाएको छ ।