खुदुनाबारी । झापाको अर्जुनधारा २ स्थित वडा खेलमैदानमा पहिलोपटक एसवाइएस खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । खेल असोज २७ देखि सुरु हुने भएको हो ।
आयोजक सचेत युवा समूह अर्जुनधारा २ ले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ । झापा र इलामका १६ वटा क्लबले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष राजा साँवा बताए ।
आयोजकले उद्घाटन खेलमा नमुना युवा क्लब इलामसँग प्रतिस्पर्धा गर्ने प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । च्याम्पियन बन्ने क्लबले नगद ५० हजारसहित ट्रफी पाउँदा उपविजेताले नगद ३० हजारमा चित्त बुझाउनु पर्नेछ ।
आयोजक क्लबका अध्यक्ष साँवाका अनुसार खेलमैदानको संरक्षण, स्तरोन्नतिसँगै युवाहरुलाई सकारात्मक मार्गमा डोहोर्याउन प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार ५ सय प्रदान गरिँदा सर्वाधिक गोलकर्ता, बेस्ट फरवार्ड, बेस्ट डिफेन्स र राइजिङ प्लेयरलाई जनही २ हजार ५ सयसहित ट्रफी प्रदान गरिने आयोजक क्लबका सचिव शिव भट्टराईले जानकारी दिए । प्रत्येक खेलकाे प्लेयर अफ दी म्याच बन्ने खेलाडीले नगद एक हजार पाउनेछ ।
प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । अध्यक्ष साँवाका अनुसार पहिलो पुरस्कार राशि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले प्रायोजन गर्ने भएका छन् । यसैगरी, दोस्रो पुरस्कार स्थानीय शान्ति सामुदायिक वन उपभोक्ता समूहले उपलब्ध गराउने उनले जानकारी गराए । अन्य खर्च खेलप्रेमी र दाताबाट संकलन हुने बताइएको छ ।
समूह भदौ २९ गतेमात्र गठन भएको हो । तदर्थ समितिको रुपमा रहेको यस समूहले खेलकुद गतिविधिसँगै सामाजिक काम गर्ने उद्देश्य लिएको छ । प्रतियाेगिता प्रत्येक वर्ष गरिने बताइएकाे छ ।