खेलकुद

एसवाइएस फुटबल सुरू, नमुना र सेतीपानीकाे विजयी सुरूवात

By admin

October 13, 2025

खुदुनबारी (झापा) । अर्जुनधारा २ स्थित वडा खेलमैदानमा आजदेखि सुरु एसवाइएस खुला नकआउट फुटबल प्रतियोगितामा नमुना युवा क्लब इलाम र अर्जुनधाराको सिएम क्लब सेतीपानीले विजयी सुरुवात गरेका छन् ।

 

आज भएको उद्घाटन खेलमा आयोजक सचेत युवा समूह (एसवाइएस)लाई ४-२ गोलअन्तरले पराजित गर्दै नमुना युवा क्लब इलाम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

 

नमूनाको जितमा खेलको १६ र २२औँ मिनेटमा राजन मगर र १५औं मिनेटमा रोशन बराइलीले एक गोल गरेका थिए भने एक गोल आत्मघातीबाट प्राप्त भएको हो । आयोजकका लागि दिनेश मगर र हिङमाङ्ग मगरले सान्त्वना गोल गरेका हुन् । नमुनाका राजन मगर प्लेयर अफ दी म्याच बने ।

 

यस्तै, आजै भएकाे दाेस्राे खेलमा इलामकै खर्वनी एफसीमाथि ३-१ गोलअन्तरमा जित दर्ता गर्दै सेतीपानी अर्जुनधाराले पनि अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । सेतीपानीका लागि दिप्सन कटुवालले २ र पूजन नेम्वाङले एक गोल गरेका थिए । यता खर्वनीका लागि रुपेश राईको सान्त्वना गोल थियो । सेतीपानीका रक्षक पूजन नेम्वाङ प्लेयर अफ दी म्याच बने ।

 

मंगलबार पहिलो खेल होक्से युवा एफसी बुद्धशान्ति र दहिझोडा एफसी अर्जुनधाराबीच हुनेछ भने दोस्रो खेलमा ब्रदर्स युनाइटेड भद्रपुरले बहुमुखी एफसी अर्जुनधारासँग भिड्ने छ ।

 

झापा र इलामका १६ वटा टिम सहभागी भएकाे प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । च्याम्पियन बन्ने क्लबले नगद ५० हजारसहित ट्रफी पाउँदा उपविजेताले नगद ३० हजारमा चित्त बुझाउनु पर्ने आयोजक क्लबका अध्यक्ष राजा साँवाले जानकारी दिए ।

 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार ५ सय प्रदान गरिँदा सर्वाधिक गोलकर्ता, बेस्ट फरवार्ड, बेस्ट डिफेन्स र राइजिङ प्लेयरलाई जनही २ हजार ५ सयसहित ट्रफी प्रदान गरिने आयोजक क्लबका सचिव शिव भट्टराईले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ दी म्याच बन्ने खेलाडीले नगद एक हजार पाउनेछ ।