अन्तराष्ट्रिय

नेपालले ट्वान्टी-२० विश्वकप खेल्ने पक्का

By admin

October 15, 2025

झापा (एजेन्सी) । नेपाल लगातार दोस्रो पटक ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । ओमानसँग बुधबार ट्वान्टी-२० विश्वकप एसिया-इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल खेल्नुअगाडि नै नेपाल र ओमान दुवैले ट्वान्टी-२० विश्वकपको टिकट काटेका हुन् ।

 

ओमानको मस्कटमा भइरहेको प्रतियोगिताको बुधबारको दुवै खेलमा आफू अनुकूल नतिजा आएपछि नेपाल र ओमान ट्वान्टी-२० विश्वकपका लागि छनोट भएका हुन् ।

 

दिनको खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान लगातार दोस्रोपटक विश्वकपमा पुगेका हुन् । २०२३ मा काठमाडौंमा भएको एसिया छनोटको शीर्ष दुई स्थानमा रहँदै नेपाल र ओमान विश्वकपमा पुगेका थिए ।

 

नेपाल लगातार दोस्रो पटक ट्वान्टी-२० विश्वकपमा पुगेको हो । सन् २०१४ मा बंगलादेशबाट नेपालले ट्वान्टी-२० विश्वकपको ढोका खोलेको थियो । १० वर्षपछि ट्वान्टी-२० विश्वकपमा पुनरागमन गर्नेक्रममा नेपालले गतवर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप खेलेको थियो । ट्वान्टी-२० विश्वकप २००७ देखि सुरु भएको हो । नेपालले २००७ देखि नै यसको छनोट खेल्दै आएको छ ।

 

फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आईसीसी ट्वान्टी-२० विश्वकपको १० औं संस्करण आयोजना हुँदैछ । नेपाल र ओमान आउँदो संस्करणका लागि छनोट हुने क्रमशः १८ र १९औं राष्ट्र हो । भारत र श्रीलंका आयोजक राष्ट्र भएका कारण ट्वान्टी-२० विश्वकपमा सोझै छनोट भएका हुन् ।