खेलकुद

भद्रपुर र होक्से एसवाइएस फुटबलको सेमिफाइनलमा

By admin

October 17, 2025

खुदुनबारी (झापा) । भद्रपुरका ब्रदर्श युनाइटेड र बुद्धशान्तिको होक्से युवा क्लब अर्जुनधारा २ खुदुनाबारीस्थित वडा खेलमैदानमा जारी एसवाइएस फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

पहिलो खेलमा नमूना युवा क्बल इलामलाई ३-१ गोल अन्तरले पराजित गर्दै होक्से सेमीफाइनलमा पुग्न सफल भएको हो । होक्सेको जितमा सुरज लिम्बू र सागर रसाइलीले व्यक्तिगत २ गोल गर्दा इलामका जीवन लिम्बूले सान्तवना गोल गरेका थिए ।

 

खेलका उत्कृष्ट खेलाडी घोषित विजेता टिमका सागर रसाइलीलाई कार्यक्रमका प्रमुख अतिथि सामाजिक व्यक्तित्व मदनविक्रम नेम्वाङ, आयोजक सचेत युवा समूहका अध्यक्ष राजा साँवालगायतले नगद र ट्रफी प्रदान गरे ।

 

यस्तै, दोस्रो खेलमा सेतीपानी फुटबल क्लब अर्जुनधारालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै भद्रपुर सेमिफाइनल पुगेको हो । भद्रपुरका लागि सरोज कार्कीले ह्याटर्कि पूरा गरे भने थप गोल सविन थापामगरको नाममा रह्यो ।

 

खेलको क्रममा सेतीपानी गोलरक्षक सुजन चेम्जोङले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । खेलका उत्कृष्ट खेलाडी सरोज कार्की भए । उनलाई प्रमुख अतिथि नेम्वाङ, अर्जुनधारा नगर खेलकुद विकास समितिका सदस्य सचिव खगेन्द्र लिङदेनलगायतले नगद र ट्रफी प्रदान गरे ।

 

प्रतियोगिताअन्र्तगत शनिबार पहिलो खेल शनिश्चरे एफसीले खुदुनाबारी फुटबल क्लब तथा दोस्रो खेल नव विहानी एफसी इलाम र सातकटेरी एफसी अर्जुनधाराबीच हुनेछ ।