खेलकुद

खुुदुनाबारी र भद्रपुर एसवाइएस फुटबलको फाइनलमा

By admin

October 19, 2025

खुदुनाबारी (झापा) । खुुदुनाबारी एफसी र ब्रदर्स युनाइटेड एफसी भद्रपुर झापाको अर्जुनधारा २ स्थित वडा खेलमैदानमा जारी एसवाइएस फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

 

आइतबार भएको पहिलो सेमिफाइनलमा होक्से युवा फुटबल क्लब बुद्धशान्तिलाई सडनडेथमा ६-५ गोलअन्तरले पराजित गर्दै खुदुनाबारी फाइनलमा प्रवेश गरेको हो । यस्तै, अन्तिम सेमिफाइनलमा सातकटेरी एफसी अर्जुनधारालाई २-० गोल अन्तरले पराजित गर्दै भद्रपुर उपाधि नजिक पुगेको हो ।

 

निर्धारित समयमा खुदुनाबारी र होक्सेले १-१ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि दुवै टिमबाट ५-५ गोलको बराबरी हुँदा खेलको निर्णय सडनडेथबाट भएको थियो ।

 

होक्से युवा एफसीका लागि खेलको २५औ मिनेटमा सञ्जय धिमालले र खुदुनाबारी एफसीका लागि खेलको ४५औ मिनेटमा राजेश दाहालले गोल गरेका थिए ।

 

खेलकाे प्लेयर अफ दी म्याच खुदुनाबारीका राजेश दाहाललाई अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, आयोजक सचेत युवा समूहका अध्यक्ष राजा साँवालगायतले नगद एक हजारसहित ट्रफी प्रदान गरेका थिए ।

 

त्यसैगरी, भद्रपुरको जितमा लागि खेलको १४औं र २०औं मिनेटमा क्रमशः सरोज कार्की र सविन थापामगरले गोल गरेका थिए । खेलको प्लेयर अफ दी म्याच सञ्जय लिम्बू भए । उनलाई दाता बिनिता थापालगायतले नगद एक हजारसहित ट्रफी प्रदान गरेका थिए ।

 

भोलि (सोमबार) फाइनल खेल हुनेछ । विजेताले नगद ५० हजार र उपविजेताले ३० हजारसहित ट्रफी पाउने आयोजक समूहका सचिव शिव भट्टराईले जानकारी दिए ।