खेलकुद

हाङमाचुली एकतप्पा गोल्डकपको फाइनलमा

By admin

October 20, 2025

एकतप्पा (इलाम) । हाङमाचुली युनाइटेड एफसी यहाँ जारी एकतप्पा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

फाकफोकथुम ७ दोकान डाँडास्थित जनकल्याण माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा चौबन्दी एफसीलाई टाइब्रेकरमा रोक्दै हाङमाचुली फाइनलमा प्रवेश गरेको हो ।

 

निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा चौबन्दीमाथि हाङमाचुलीले ४-३ गोलअन्तरमा जित दर्ता गर्यो ।

 

खेलको १४औँ मिनेटमा हाङमाचुलीका लागि मनिष लिम्बूले गोल गरेर अग्रता बनाएका थिए । तर, ५१औँ मिनेटमा चौबन्दीले पेनाल्टी पाउँदा गौरव धिमालले गोल गर्दै बराबरीमा ल्याएका हुन् ।

 

खेलको प्लेयर अफ दी म्याच हाङमाचुली गोलरक्षक निशम दनुवार भए । उनल नगद एक हजार दुई सयसहित मेडल पाए । जितसँगै हाङमाचुलीले फाल्गुनन्द-पितामरुङ-डिएक्सएनसँग फाइनल भेट पक्का गरेको छ । भोलि फाइनल खेल हुनेछ ।

 

क्रिएटिभ सोसिएल स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलको विजेताले १ लाख २६ हजार ८९ रुपैयाँ पाउँदा उपविजेताले नगद ६६ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

 

यसैगरी, सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले नगद २ हजार २ सय र ट्रफी पाउने आयोजकले जनाएको छ ।