बिर्तामोड । यही कात्तिक १५ गतेदेखि हुने झापा महिला गोल्डकपलाई लाइभ भिन्टेज डेनिम (एलभिडी) ले मुख्य प्रायोजन गर्ने भएको छ ।
गोल्डकप आयोजक समिति र पुरुषले लगाउने कपडा (मेन्स वेयर) कम्पनी एलभिडीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको हो । एलभिडीले मुख्य प्रायोजकका रुपमा पहिलोपटक सहयोग गरेको जनाएको छ ।
अब ‘एलभिडी झापा महिला गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । एलभिडीले यसअघि झापामा भएको फुटबलमा पनि प्रायोजन गरेको थियो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सिओओ) सौरभ श्रेष्ठले झापा महिला गोल्डकपसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।
नेपालमा १० वर्षदेखि सञ्चालनमा रहेको एलभिडीले महिला खेलाडीको प्रोत्साहनका लागि मुख्य प्रायोजकको भूमिकामा रहेको श्रेष्ठले बताए । नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता भएकाले आवद्ध भएको उनको भनाइ छ ।
यसैबीच, प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट धमाधम बनाइँदैछ ।
दुधे रंगशालामा हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले नगद पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिएका छन् ।