खेलकुद

महिला गोल्डकपमा सिक्किममाथि एपिएफको गाेल वर्षा

By admin

November 04, 2025

बिर्तामोड । उपाधिको दाबेदार टोली सशस्त्र प्रहरीको एपिएफ एफसीले सानदार जित निकाल्दै झापामा जारी एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

झापाको शिवसताक्षी ११ स्थित दूधे रंगशालामा जारी प्रतियोगितामा पाहुना टोली सिंग्लिङ स्पोेर्टस् क्लब सिक्किमलाई ७-० फराकिलो गोलअन्तरले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

एपिएफका लागि रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् भने अनिता बस्नेतले २ गोल तथा सविता रानामगर र अनिता केसीले समान १-१ गोल गरेकी हुन् ।

 

सविता रानामगरले खेलको २९औँ मिनेटमा गोल गर्दै एपिएफका लागि खाता खोलेकी थिइन् । यस्तै, रश्मिकुमारीले खेलको ४१औँ, ४६औँ र ८४औँ मिनेटमा ह्याट्रिक पूरा गरेकी हुन् । यस्तै, एपिएफका लागि ३८औँ र ५१औँ मिनेटमा अनिता बस्नेत र ७१औँ मिनेटमा अनिता केसीले गोल गरेर फराकिलो नतिजा निकालेकी थिइन् ।

 

खेलको प्लेयर अफ दी म्याच एपिएफकी ह्याट्रिककर्ता रश्मिकुमारी घिसिङ भइन् । उनले आयोजकका तर्फबाट नगद १५ हजार र ट्रफी पाइन् । यसैगरी, उनका समर्थकले थप ५ हजार नगद प्रदान गरेका थिए ।

 

भोलिको तेस्रो क्वार्टरफाइनल खेलमा घरेलु टोली झापा एफसीले संकटा एफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार पाउँदा उपविजेताले नगद पाँच लाखमा चित्त बुझाउनु पर्नेछ ।

 

सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ ।