शनिश्चरे । अर्जुनधारा १ नम्बर वडाको टिम मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा मंगलबार भएको खेलमा अर्जुनधारा २ नम्बर वडालाई ७-१ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा १ उपाधि होडमा पुगेको हो ।
अर्जुनधारा १ को जितका लागि खेलको विक्रम गोले, रञ्जित राई, मदन लिमेल मगर, समिर सुब्बा, विजय सेन्दाङ र सुवास राईले गोल गरेका थिए । थप एक गोल आत्मघातीबाट प्राप्त भएको थियो । यता अर्जुनधारा २ का लागि सुवास समाल मगरले सान्त्वना गोल गरेका हुन् ।
खेलमा विजेता टिमका सुवास राई उत्कृष्ट खेलाडी भए । उनलाई अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, अर्जुनधारा नगर सभा सदस्य एवम् दाता बुद्धिमान लिम्बूलगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरे ।
भोलि (बुधबार)को अन्तिम सेमिफाइनल खेल अर्जुनधारा ८ र अर्जुनधारा ११ बीच हुने आयोजक गोलधाप युवा क्लबका सचिव भूपालराज कार्कीले जानकारी दिए ।