खेलकुद

वडास्तरीय भेट्रान्सः अर्जुनधारा ८ माथि अर्जुनधारा ११ को गोल वर्षा

By admin

November 05, 2025

शनिश्चरे (झापा) । उपाधिको दाबेदार अर्जुनधारा ११ नम्बर वडाको टोली झापाको अर्जुनधारा ९ स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरीय भेट्रान फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

 

अर्जुनधारा ८ माथि अप्रत्यासित नतिजा निकाल्दै अर्जुनधारा ११ उपाधि होडमा पुगेको हो । फाइनल यात्राका लागि उसले ८ नम्बर वडाको टिममाथि ७-० गोलको नतिजा निकाल्यो । अब ११ नम्बर वडाले १ नम्बर वडासँग उपाधिका लागि भिड्ने भएको छ ।

 

स्थानीय नमूना खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा बाबुराम धिमालले ह्याट्रिकसँगै व्यक्तिगत ४ गोल गरे भने युवराज गिरीले २ तथा सोनम बान्तवा राईले एक गोलको योगदान दिएका हुन् ।

 

खेलमा बाबुराम धिमाल उत्कृष्ट खेलाडी भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा ९ का वडाध्यक्ष भीष्म मिश्र, अर्जुनधारा नगर सभा सदस्य एवम् दाता बुद्धिमान लिम्बू, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाललगायतले नगद १५ सयबाट पुरस्कृत गरेका थिए ।

 

प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । च्याम्पियन बन्ने टोलीले नगद ५१ हजारसहित ट्रफी पाउँदा उपविजेताले ३१ हजारमा चित्त बुझाउनु पर्नेछ ।