खेलकुद

महिला गोल्डकपः पोखराको चुनौती आर्मीद्वारा समाप्त

By admin

November 06, 2025

बिर्तामोड । उत्कृष्ट प्रदर्शन गर्दै त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

शिवसताक्षी नगरपालिका ११ स्थित दूधे रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा आरएस पोखरा क्लबलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आर्मीको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।

 

आर्मीको जितका लागि जेनिफर रानामगरले पहिलो गोल गरेकी हुन् । खेलको १६औँ मिनेटमा जेनिफरले गोल गर्दा विमला चौधरीले ह्याट्रिक पूरा गरिन् । विमलाले खेलको ३३औँ, ८५औँ र ९१औँ मिनेटमा गोल गरेकी थिइन् । थप दुई गोल ४६औँ मिनेटमा विमला विक र ९०औँ मिनेटमा सर्मिला थापाले गरेकी हुन् ।

 

ह्याट्रिक पूरा गरेकी विमला चौधरी प्लेयर अफ दी म्याच बनिन् । उनलाई झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुलगायतले नगद १५ हजारसहित ट्रफी प्रदान गरे ।

 

अब आर्मीले चिरपरिचित प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपिएफ एफसीसँग अन्तिम सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । भोलि पहिलो सेमिफाइनलमा नेपाल पुलिस फुटबल क्लबले संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।