बिर्तामोड । उपाधिको दाबेदार त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा रोक्दै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब एलभिडी झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
झापा शिवसताक्षी नगरपालिका ११ स्थित दूधे रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा राष्ट्रिय खेलाडीले भरिएको एपिएफसँग आर्मी टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गरेको हो । यसअघि दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।
टाइब्रेकरमा एपिएफकी गोलरक्षक अन्जना रानामगरले आर्मीको २ वटा प्रहार रोकेकी थिइन् । आर्मीका लागि विमला विक र अनिता लम्जेलको प्रहारमात्र गोलमा परिणत भएको थियो । एपिएफका लागि निशा थोकर, सविता रानामगर, अनिता बस्नेत र रश्मिकुमारी घिसिको प्रहार गोलमा परिणत हुँदा उपाधि दौडमा उक्लिएको हो ।
निर्धारित समयमा आर्मी ३ मिनेट सम्हालिन नसक्दा एपिएफ खेलमा फर्किएको थियो । पहिलो गोलरहित बराबरी खेलको दुवै टोलीको गोलको नतिजा दोस्रो हाफमा निस्किएको हो । आर्मीकी चन्द्रा भण्डारीले खेलको ६३औँ मिनेटमा गोल गरेर अग्रता बनाएकी थिइन् । आर्मीले फाइनल यात्रा लगभग तय गरिसकेको थियो ।
तर, ९० मिनेटको समाप्तिपछि ७ मिनेट थपिँदा खेल सकिन ३ मिनेट अगाडि एपिएफले गोल गर्दै कमब्याक गरेको हो । एपिएफले ९४औँ मिनेटमा पाएको फ्रिकिकमा कप्तान अनिता बस्नेतले सम्झनलायक गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दी म्याच एपिएफकी गोलरक्षक अन्जना रानामगर भइन् । उनले नगद १५ हजारसहित ट्रफी पाइन् ।
एपिएफले फाइनल यात्रासँगै कम्तिमा नगद ५ लाख सुरक्षित गरेको छ । यसअघि नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको थियो । कात्तिक २४ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख १० हजारसहित ट्रफी पाउने छ ।
सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख ५० हजारसहित आकर्षक ट्रफी पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।