खेलकुद

पुलिस बन्यो झापा महिला गोल्डकप च्याम्पियन, एपिएफ स्तब्ध

By admin

November 10, 2025

बिर्तामोड । नेपाली महिला फुटबलमा सर्वाधिक च्याम्पियन बनेको टोली सशस्त्र प्रहरीको एपिएफ एफसी पहिलोपल्ट नेपाल पुलिस क्लबसँग स्तब्ध बनेको छ ।

 

झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि पुलिसले जितेसँगै एपिएफको विजय यात्रामा ब्रेक लागेको हो । पुलिस च्याम्पियन बन्दा मिना देउवाको गोल निर्णायक बन्यो ।

 

फाइनल खेलको २२औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनाएको थियो । रेखा पौडेलले पेनाल्टी बक्सभित्र गरेको सट डिफेन्डरमा लाग्दै फर्किएको बल पेनाल्टी एरियामा अनमार्क रहेकी मिना देउवाले प्रहार गरेकी हुन् ।

 

मिनाले गोलकिपरलाई कुनै मौका नदिई बल जालीभित्र पठाउँदै पुलिसलाई १-० को अग्रता दिलाइन् । मिनाको एक गोलले एपिएफको विजय यात्रामा पहिलोपटक पूर्णविराम लागेको हो ।

 

अन्ततः खेलको २२औँ मिनेटमा मिना देउवाले गरेकी गोल नै पुलिसको जितको आधार बन्यो । नेपाल पुलिस क्लबले १–० को जितसहित उपाधि हात पार्दै ऐतिहासिक सफलता हाँसिल ग¥यो ।

 

उपाधिसँगै पुलिसले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी पायो । उपविजेतामा सीमित एपिएफले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो ।

 

फाइनलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मिना देउवाले हात पारिन् । उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन् ।

 

प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन् । अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदीयमान खेलाडी जेनिफर राना मगर (आर्मी) बने । सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे।

 

विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले वितरण गरे ।