अर्थ बजार

पेट्रोल र डिजेलको भाउ बढ्यो

By admin

November 16, 2025

झापा । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेल तथा मट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको हो ।

 

बढेको मूल्य गएराति देखि नै लागू भएको छ । भारतीय आयल निगमबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ४५ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसा बढेको मूल्यसूची आएको निगमले जनाएको छ । तर, उपभोक्ताको हितलाई मध्यनजर गरी पेट्रोलमा दुई र डिजेलमा तीन रुपैयाँ मात्रै वृद्धि गरिएको निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 

भाउ बढेसँगै अब पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेल प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा पर्नेछ ।

 

दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १४६ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १४७ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ यथावत् रहेको छ ।