राजनीति

झापामा थपिए ३५ हजार ३१९ नयाँ मतदाता

By admin

November 23, 2025

भद्रपुर । झापामा ३५ हजार ३१९ जना नयाँ मतदाता थपिएका छन् । फोटो तथा औँठा छापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ११ हजार ७३३ जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए।

 

यसैगरी, राष्ट्रिय परिचयपत्रमार्फत २३ हजार ५८६ जना नयाँ मतदाता थपिएकाे प्रमुख नेपालले जनाएका छन् । योसँगै झापामा मतदाताको सङ्ख्या ७ लाख १४ हजार ५९५ पुगेको छ । प्रतिनिधिसभा निर्वाचन घोषणाअघि जिल्लामा मतदाताको सङ्ख्या ६ लाख ७९ हजार २७६ रहेको थियो ।

 

प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि देशभरि भने आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो ।