झापा । झापा बिर्तामोड वडा नम्बर ७ मियाबारीस्थित रेखा खोलामा करेन्ट लगाएर माछा मार्दा आनन्द चौधरीको मृत्यु भएको खुल्न आएको छ ।
शनिबार राति वडा नं ६ का ५२ वर्षीय आनन्द चौधरीसँग सोही ठाउँ बस्ने ४८वर्षीय पुरन चौधरी र वडा नं ७ बस्ने ३२ वर्षीय श्याम चौधरी करेन्ट लगाएर माछा मार्न रेखा खोला गएका थिए ।
माछा मार्ने क्रममा आनन्दलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि अस्पताल लैजाने प्रयास गर्दा गर्दै मृत्यु भएपछि पुरन र श्यामले खोला किनारमा शव छोडेका थिए ।
करेन्ट लगाएर माछा मार्ने क्रममा आनन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले पुष्टि गरे । उनले घटनास्थलबाट करेन्ट लगाएर माछा मार्ने तार बरामद भएको जानकारी दिए ।
अनुसन्धानको क्रममा पुरन र श्यामलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको छ । राति १ बजे कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
हिजै झापामा करेन्ट लगाएर माछा मार्दा अर्का एकजनाको मृत्यु भएको थियो । हिजो दिउँसो १२ः२० बजे गौरादह ६ र गौरीगञ्ज ६ को सिमाना पर्ने रामचन्द्रे खोलामा गौरादह ६ आरतिनगर बस्ने ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको थियो ।