विराटनगर । झापाको शिवसत्ताक्षी नगरपालिका १० माइधारका सरोज शर्माको अपहरणपछि हत्या गरेर शव गाडेको घटना अनुसन्धान गर्ने प्रहरी पुरस्कृत भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सो घटनाको अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय झिलझिले झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई कात्तिक महिनाको पुलिस अफ द मन्थ घोषणा गरेको हो ।
प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने प्रहरीलाई हरेक महिना यो पुरस्कार प्रदान गर्छ । गत ९ कात्तिकमा झापा अर्जुनधारा नगरपालिका ४ मा रहेको दहिझोडा सामुदायिक वनमा ३३ वर्षीय सरोज शर्माको हत्या भएको थियो ।
हत्यापछि आरोपीले उनकै गाडीमा राखेर हुलाकी राजमार्ग अन्तर्गत विरिङ खोलामा रहेको पुलमूनि लगेर शव गाडेका थिए । मेचीनगर-१३ स्थित हातेमालो सामुदायिक वनभित्र शर्माको प्रदेश ०१-०३ च ७१९४ नम्बरको उनको कार जलेको अवस्थामा भेटिएको थियो ।
उनको अपहरणपछि हत्या आरोपमा उनकै साथी सुनिल साह र राहुल साह पक्राउ परेका थिए । दसैंमा घर आएका शर्मासँग भएको पैसा लुट्ने बाहानामा उनीहरूले हत्या गरेको अनुसन्धानपछि खुलेको थियो ।