खेलकुद

झापाकाे अर्जुनधारामा सामुदायिक वनबीच भेट्रान फुटबल हुने

By admin

November 26, 2025

शनिश्चरे । झापाको अर्जुनधारामा सामुदायिक वन समूहबीच भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आउँदो चासोक तङनाम (उधौली पर्व)को अवसरमा प्रतियोगिता हुने भएको हो ।

 

अर्जुनधारा १ मा रहेको मदनपुर सांस्कृतिक खेल मैदानमा मंसिर १४ गतेदेखि चासोक तङनाम व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा झापा अर्जुनधाराका ६ र इलामका २ टिमको सहभागिता रहने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

 

आयोजक क्लबका उपाध्यक्ष विजय सेन्दाङका अनुसार सामुदायिक वनहरुको भाइचारा सम्बन्धलाई विस्तार गर्न फुटबल प्रतियोगिता आयोजना गरिएको हो । उनका अनुसार अर्जुनधाराका शान्ति, नमुना, दहिझोडा, हचुमासा, हलुवागढ र जुकेखाडी सामुदायिक वन सहभागी छन् ।

 

यस्तै, इलामको दाहालटार र सुखानी सामुदायिक वन उपभोक्ता समूहले प्रतिस्पर्धा गर्नेछन् । मंसिर १७ गते हुने फाइनल खेलको विजेताले नगद ३५ हजार र उपविजेताले नगद २५ हजारसहित ट्रफी पाउने आयोजक समितिका अध्यक्ष राजेश जवेगुले जानकारी दिए ।

 

प्रत्येक सामुदायिक वनका उपभोक्ताले सहभागिता जनाउने प्रतियोगितामा २०४६ सालका ३ जना र २०४२ सालका ८ जना खेलाडीको उमेर तोकिएको छ ।