खेलकुद

पाथीभरा याङवरक सेसेलुङ महिला गोल्डकपको सेमिफाइनलमा

By admin

November 30, 2025

फुङलिङ (ताप्लेजुङ) । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङमा जारी अन्तरपालिकास्तरीय सेसेलुङ महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

स्थानीय भानुजन माविको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई टाइब्रेकरमा ३-१ गाेलअन्तरले पराजित गर्दै पाथीभरा याङवरकले अन्तिम चारमा स्थान बनाएको हो ।

 

खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । खेलको १७औँ मिनेटमा आठराई त्रिवेणीकी प्रिती गुरुङले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

 

तर, आठराईले गरेको गोलको खुसी साट्न नपाउँदै पाथीभरा याङवरकले बराबरी गोल फर्कायो । १८औँ मिनेटमा पाएको फ्रिकिकमा अम्बिका लावतीले गोल गरेकी हुन् । अम्बिकाले लगभग ३५ यार्डको दूरीबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

 

टाइब्रेकरमा अम्बिका लावती स्मारिक योङहाङ र लिरा लिम्बूले गोल गरिन् भने आठराई त्रिवेणीकी जेनिसा लिम्बूको प्रहारमात्र गोलमा परिणत भयो । यस्तै, प्रिती गुरुङ र कुमारी सेर्पाको प्रहार पाथीभरा याङवरककी गोलरक्षक सन्दिला राईले रोकेकी थिइन् । ओङ्गु सेर्पाको प्रहार बाहिरिएको थियो ।

 

टाइब्रेकरमा दुई प्रहार रोकेकी पाथीभरा याङवरककी गोलरक्षक सन्दिला राई प्लेयर अफ दी म्याच बनिन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् ।

 

चासोक तङनाम सञ्चालन समितिले आयोजना गरेको गोल्डकपमा जिल्लाका आठ वटा पालिकाको सहभागिता रहेको छ । भोलि (सोमबार) फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाबीच खेल हुनेछ । मंसिर २० गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २ हजार ८२ सहित आकर्षक ट्रफी पाउने छ ।

 

यसैगरी, गोल्डकपको उपविजेताले नगद १ लाख २ हजार ८२ मा चित्त बुझाउनु पर्नेछ । प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद ५ हजार पाउँदा विधागत पुरस्कारतर्फ नगद ८ हजार प्रदान गरिने आयोजक समितिका अध्यक्ष चन्द्र थेवेले जानकारी दिएका छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजारसहित ट्रफी पाउने छ ।