खेलकुद

मरिक एफसी धरान बन्यो सिरिजङ्गा गोल्डकप च्याम्पियन

By admin

December 15, 2025

ताप्लेजुङ । सुनसरी धरानको मरिक एफसी सिरिजङ्गा गाउँपालिका ४ स्थित तेल्लोकमा आयोजित पाँचौ अन्तर्राष्ट्रिय सिरिजङ्गा गोल्डकपको च्याम्पियन बनेको छ ।

 

तेल्लोक माविको खेलमैदानमा आज भएको फाइनल खेलमा झापा बिर्तामोडको न्यू स्टार क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै मरिक एफसीले उपाधि चुमेको हो ।

 

गतवर्ष उपविजेतामै सीमित बनेको मरिकले दोस्रो पटक सहभागिता जनाएसँगै गोल्डकप च्याम्पियन बनेको हो भने न्यू स्टार तेस्रो पटक उपविजेतामा समेटिएको टोली हो ।

 

मरिकका लागि नानाले खेल सुरु भएको ४ मिनेटमै गोल गरेका थिए । ५६औँ मिनेटमा दोस्रो गोल नानाले नै गरेका हुन् । उनी प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ सय पाउन सफल भए ।

 

मरिककै फाफोनाले ८५औँ मिनेटमा गोल गरेर फराकिलो अन्तर निकाले । न्यू स्टारका लागि सान्त्वना गोल अजय मार्टिनले ५०औँ मिनेटमा गरेका थिए । फोफोना सर्वाधिक गोलकर्ता बन्दै नगद ५ हजार पाउन सफल भए ।

 

यसैगरी, मरिक एफसीका सुशिल राई सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार पाए । उत्कृष्ट गोलरक्षक मरिककै निशान मगर, उत्कष्ट रक्षक राजु मगर बन्दा उत्कृष्ट मिडफिल्डर न्यू स्टारका निकेश श्रेष्ठ भए । उनीहरुले जनही ५-५ हजार र ट्रफी पाए ।

 

च्याम्पियन बनेको मरिक एफसीले ३ लाख ३२१ नगदसहित ट्रफी पाउँदा उपविजेता बनेको न्यू स्टार क्लबले एक लाख ५० हजार ३२१ रूपैयाँमा चित्त बुझाएको छ । तेल्लोक स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपमा भारतको एकसहित ८ वटा टिमको सहभागिता रहेको थियो ।