खेलकुद

मानाभारा गोल्डकपमा लाग्याे आठ टिमको टुंगो

By admin

December 23, 2025

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आमन्त्रित प्रथम मानाभरा कप पुरुष फुटबल प्रतियोगितामा सहभागी हुने टिमको टुंगो लागेको छ ।

 

फक्ताङ्लुङ गाउँपालिका २ खेजेनिमस्थित मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा यही पुस १५ गतेदेखि प्रतियोगिता सञ्चालन हुँदैछ ।

 

क्लबका संरक्षक एवम् फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास) का अनुसार प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ । सहभागी टोलीको टुङ्गो लागेसँगै खेल तालिकासमेत पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

 

खेल तालिकाअनुसार पुस १५ गते उद्घाटन खेल आयोजक मानाभारा युथ स्पोर्टिङ क्लब र आठराई त्रिवेणी गाउँपालिकाको माछापोखरी हिटी फुटबल क्लब चाँगेबीच हुनेछ । यस्तै पुस १६ गते सिँवा स्पोर्टिङ क्लब फक्ताङ्लुङ गाउँपालिका ३ लिङ्खिम र सिदिङ्वा गाउँपालिका ७ सुरुम्खिमको लालीगुराँस फुटबल क्लबबीच खेल हुनेछ ।

 

पुस १६ गते नै आमन्त्रित टोली लिखुभुजी युथ क्लब रामेछाप र मैवाखोला गाउँपालिकाको जनआदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबीच खेल हुनेछ । पहिलो चरणको अन्तिम खेल पुस १७ गते फुङ्लिङ नगरपालिका ९ हाङ्देवाको नवप्रयास युनाइटेड क्लब र मेरिङ्देन गाउँपालिकाको प्रगतिशील युथ क्लब लिङ्तेपबीच हुनेछ ।

 

आयोजक क्लबका अध्यक्ष तुलसी दाहालका अनुसार सेमिफाइनल चरणका दुबै खेल पुस १८ गते र पुस १९ गते प्रतियोगिताको फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपैयाँ र उपविजेताले एक लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी पाउने छ ।

 

प्रतियोगितामा सर्वोत्कृष्टलगायतका खेलाडीलाई विभिन्न विधागत पुरस्कारको व्यवस्था गरिएको पनि आयोजक क्लबका सचिव मौसम अन्छङ्बोले जानकारी दिए । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), कार्यालय प्रमुख यज्ञनिधि पौडेल लगायतको उपस्थिति थियो ।