कला

झापा अर्जुनधाराका अनिष तामाङ भए हिमालय रोडिज सिजन ७ का विजेता

By admin

December 30, 2025

शनिश्चरे । झापा अर्जुनधाराका अनिष तामाङ हिमालय रोडिज सिजन सेभेनका विजेता बनेका छन् । सोमबार राति अबेर सम्पन्न फाइनल राउन्डबाट उनी च्याम्पियन बनेका हुन् ।

 

अनिषसँगै काठमाडौँकी रोजिता लामा पनि फाइनलमा पुगेकी थिइन् । दुवैजना टिम अनुपबाट फाइनल पुगेका हुन् । तर, फाइनलमा अनिषले बाजी मारे । अर्जुनधारा ५ का अनिष नेपाली सेनामा कार्यरत छन् ।

 

सिजन सेभेनको च्याम्पियन बनेसँगै अनिषले नगद १० लाखसहित एफजेड भी३ मोटरसाइकल जितेका छन् । अनिष झापा अर्जुनधारामा रहेको शनिश्चरे तेक्वान्दो डोजाङका खेलाडी (थर्ड डान) हुन् ।

 

उपाधि विजेता तामाङलाई हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलसहितका अतिथिले पुरस्कार प्रदान गरे । उपविजेता रोजिताले एटआइटीएम कलेजबाट ६ लाख बराबरको शैक्षिक छात्रवृत्तिसहितका आकर्षक उपहार प्राप्त गरिन् । रोजिता पेशाले ब्यायाम प्रशिक्षक हुन् ।

 

हिमालय रोडिजको इतिहासमा पहिलोपटक महिला प्रतियोगी फिनालेसम्म पुगेकी हुन् । यस संस्करणका कतिपय टास्क महिलामैत्री बनाइएको निर्देशक सिमोस सुनुवारले बताए ।