समाज

जेनजी आन्दोलनमा चोरिएको मोटरसाइकलसहित इलामका एक व्यक्ति पक्राउ

By admin

January 05, 2026

झापा । जेनजी आन्दोलनमा बिर्तामोडको जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट चोरिएको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा बिर्तामोड १ स्थित सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम फाकफोकथुम गाउँपालिका ७ घर भएका ३९ वर्षीय वीरबहादुर दमाई रहेका छन् ।

 

उनले आफ्नो डेरामा भदौ २४ गते जेनजी आन्दोलनको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको परिसरबाट हराएको मोटरसाइकल लुकाएर राखेका थिए ।

 

हिजो बिहान इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्दा दमाईले लुकाईछिपाई राखेको अवस्थामा मे ७ प. नम्बर नखुलेको (सुपर स्प्लेन्डर) मोटरसाइकल फेला परेको थियो । सो मोटरसाइकल सर्वसाधारणको भएको बताइएको छ ।

 

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । त्यसक्रममा ट्राफिक भवनमा आगजनी गर्नुका साथै सवारीसाधनमा समेत आगो लगाएका थिए ।

 

आगजनीबाट दुईवटा गाडी क्षतिग्रस्त भएका थिए । त्यस्तै सेतो नम्बर प्लेट भएका कार्यालयको ४ वटा, त्यहाँका कर्मचारीहरुको ८ वटा र सर्वसाधारणको मोटरसाइकलसमेत हराएको थियो ।