अर्थ बजार

माघ पहिलो साता भद्रपुरमा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने

By admin

January 05, 2026

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । झापाका आम उद्योगी-व्यवसायीहरुको साझा संस्था झापा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको तयारी गरिएको हो ।

 

सुस्ताउँदै गएको भद्रपुर बजारलाई चलायमान गराउने, झापाको उद्योग-व्यवसायलाई थप गति प्रदान गर्ने एवम् झापाका पर्यटकीय क्षेत्रहरुको थप प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ ७ गतेदिेखि २१ गतेसम्म महोत्सव सञ्चालन हुने आज संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

भद्रपुर ८ स्थित मेची रंगशाला परिसरमा आयोजना गर्ने गरी महोत्सवको तयारी गरिएको संघका कार्यवाहक अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले जानकारी दिए ।

 

उनका अनुसार घरेलु, कृषि, पर्यटन, अन्तर्राष्ट्रिय वस्तु तथा सेवाहरुको प्रवद्र्धन गर्नका लागि आयोजना गरिने महोत्सवमा एक सयभन्दा बढी स्टलहरु रहनेछन् ।

 

महोत्सव सम्पन्न गर्न अनुमानित १ करोड २० लाख रुपैयाँ खर्च हुने संयोजक राईले महोत्सवमा ७ देखि १० करोडको कारोबार हुने बताए । उनका अनुसार १ लाखभन्दा बढीले महोत्सवको अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

 

यसै सन्दर्भमा संघले आइतबार संघकै सभाहलमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । महोत्सव सफल बनाउन विभिन्न ९ वटा उपसमिति गठन गरिएको प्रेस सल्लाहकार रोहित काफ्लेले जानकारी दिएका छन् ।

 

पत्रकार सम्मेलनमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, भद्रपुर नगरपालिका वडा नं ८ का अध्यक्ष मनोज सुब्बालगायतले आफ्ना भनाइ राखेका थिए ।