समाज

बिर्तामोडमा १२३ ग्राम ब्राउन सुगरसहित अजय राजवंशी पक्राउ

By admin

January 06, 2026

झापा । ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडमा एक कारोबारी पक्राउ परेका छन् । आज दिउँसो १ः३० बजे बिर्तामोड १ स्थित सूर्यनगर टोल काली मन्दिर बस्ने ४० वर्षीय अजय राजवंशी पक्राउ परेका हुन् ।

 

राजवंशीको घर कोठामा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा प्लास्टिकबाहेक १२३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

राजवंशीको साथबाट र घरभित्र लुकाई छिपाई राखेको अवस्थामा प्लास्टिकसहित १३१ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

त्यस्तै, नेपाली नोट २ लाख ६७ हजार, भारतीय नोट २९ हजार ५००, डिजिटल तराजु १ थान, कैँची १ थान, चक्कु १ थान, मोबाईल २ थानसमेत फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको छ ।

 

बिर्तामोडमा अहिलेसम्मकै ठूलो परिमाणमा ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।