अर्थ बजार

अर्जुनधारा नगर विकास सहकारीको चौथो साधारणसभा सम्पन्न

By admin

January 07, 2026

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ मा रहेको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

 

संस्था सञ्चालक समितिका अध्यक्ष प्रत्युसआजाद रानाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

 

कार्यक्रममा संस्थाका अध्यक्ष रानाले संस्थाको गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक विनोद आचार्यले प्रस्तुत गरेका थिए ।

 

प्रस्तुत प्रतिवेदनमा जम्मा शेयरपूँजी ४४ लाख ११ हजार नौ सय रुपैयाँ, निक्षेप एक करोड २७ लाख ८० हजार ३८५ रुपैयाँ, जम्मा आम्दानी एक करोड ४९ लाख ३७ हजार ३२४ रुपैयाँ ७२ पैसा, जम्मा खर्च एक करोड ४४ लाख नौ हजार ४८३ रुपैयाँ ५७ पैसा, खुद नाफा ६४ हजार ६३८ रुपैयाँ ५७ पैसा उल्लेख गरिएको छ ।

 

त्यसैगरी संस्था स्थापना गर्न विशेष योगदान पु¥याउने अर्जुनधारा नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राई, बुद्धशान्ति गाँउपालिकाका कृषि विकास शाखा प्रमुख अर्जुन पौडेल, कृषि विज्ञद्वय राजेन्द्रराज खरेल र टेकबहादुर पोख्रेल, सहकारीकर्मीहरु उमा थापा, टसबहादुर प्रधान र रुद्रमणि श्रेष्ठलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

 

त्यस्तै उत्कृष्ट कृषकबाट अर्जुनधारा-४ निवासी राधिका राउत र अर्जुनधारा-७ निवासी शिवशंकर यादवलाई विद्युतीय स्प्रे ट्याङकीबाट पुरस्कृत गरिएको थियो । समितिकी सदस्य देवकुमारी ओलीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य पदमलाल राईले गरेका थिए ।