झापा । पछिल्लो पटक कनकाई पुल (माइखोला)सहित पटक पटक बम राखेर आतंक फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कनकाई नगरपालिका ४ स्थित माइखोलाको पुलनजिक पुस १९ गते बिहान बम राखेर आतङ्क फैलाउने कनकाई ८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय) पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
पूर्वपश्चिम राजमार्गमा पर्ने कन्काई पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शङ्कास्पद वस्तु अरिदमन गणस्थित नेपाली सेनाले निष्क्रिय पारेको थियो । प्रेसर कुकर बमसँगै सनातन सुरक्षा सेना नेपालको पर्चासमेत भेटिएको थियो ।
खरेल यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति भएको प्रहरीको भनाइ छ । २०८१ साल पुुमा इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको काली शक्ति गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो ।
त्यस समयमा पनि खरेल पक्राउ परेका थिए । पक्राउ परेका खरेलको नेतृत्वमा २०७८ साल चैतमा इटहरी २ नवजागृति टोलमा कोठामा बम विस्फोट हुँदा रविन थापा र शेरजंग गुरुङ घाइते भएका थिए। खरेलले पछिल्लो केही वर्षदेखि झापाको बिर्तामोड र दमकमा पनि बम आतङ्क मच्चाउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
२०७८ सालअघि दुई वर्ष पाँच महिना कैद भुक्तान गरेर छुटेपछि उनी पुनः आतङ्ककारी गतिविधिमा संलग्न भएपछि २०८१ साल चैतमा पक्राउ परेका थिए । उनी जेनजी आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट कैद भुक्तान गरिरहेको अवस्थामा फरार भएका थिए ।