समाज

गौरीगञ्जमा ८ ग्राम ब्राउन सुगरसहित तीनजना पक्राउ

By admin

January 11, 2026

झापा । झापाको गौरीगञ्जमा ८ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । आज दिउँसो अन्दाजी ४ः३० बजे गौरीगञ्ज २ टटुवामारीबाट उनीहरू पक्राउ परेका हुन् ।

 

स्थानीय यादव टोल बस्ने ३४ वर्षीय मानफकुमार मेहतालाई गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डको टोलीले लागूऔषधसहित पक्राउ गरेको हो ।

 

चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकबाहेक ३ ग्राम २५० मिलिग्राम र उनको घर खानतलासी गर्दा प्लाष्टिकबाहेक ३ ग्राम ७५० मिलिग्राम गरी जम्मा प्लाष्टिकबाहेक ७ ग्राम ब्राउनसुगर बरामद गरेको छ । मेहतालाई इप्रका गौरीगञ्जमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

त्यस्तै गएराति ९ः३० बजे गौरीगञ्ज ६ मुस्लिम टोल बस्ने २२ वर्षीय मोहमद रहिम मियाँ र सोही ठाउँ बस्ने अन्दाजी १८ वर्षीय सक्षम उप्रेती पनि लागूऔषधसहित पक्राउ परेका थिए । इप्रका गौरीगञ्जबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा मोहमद रहिम मियाँको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ब्राउनसुगर फेला पारेको थियो ।

 

दुवै जनालाई नियन्त्रणमा लिई इप्रका गौरीगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।