शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयले भक्का व्यवसायबाट जीविकोपार्जन गर्दै आएका महिलाहरुलाई चुल्होसहित हटकेस वितरण गरेको छ ।
भक्का दिवसको पूर्वसन्ध्यामा ८ नम्बर वडा कार्यालयको तर्फबाट स्थानीय १४ जना भक्का व्यवसायी महिलाहरुलाई फलामको चुल्हो र हटकेस वितरण गरेको हो ।
अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले भक्का व्यवसाय गरिरहेका आदिवासी समुदायका महिलाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले भक्का पकाउन फलाम चुल्हो र तातो राखिराख्न हटकेस वितरण गरिएको बताए ।
सोमबार साँझ १४ जना भक्का व्यवसायीहरुलाई वडाध्यक्ष उप्रेतीलगायत जनप्रतिनिधिहरुले १६ सयबराबरको चुल्हो र हटकेस वितरण गरेका हुन् । गतवर्ष भक्का दिवसको अवसरमा ८ नम्बर वडा कार्यालयले निशूल्क भक्का वितरण गरेको थियो ।